दुई अर्ब लगानीमा तराईदेखि उच्च पहाडसम्म अर्गानिक खेती गरिरहेका पवन

Setopati

पवन गोल्यानको आफ्नै व्यापारिक साम्राज्य छ।

६६ वर्ष लागेका उनको गोल्यान समूह नेपालकै अग्रणी व्यावसायिक घराना हो। पचास वर्षभन्दा पुरानो यो समूहले टेक्सटायल, होटल, धागो, हाइड्रोपावर, अपार्टमेन्ट, प्लास्टिक, बैंक तथा वित्तीय संस्था लगायत दर्जन बढी क्षेत्रमा अर्बौं रूपैयाँ लगानी गरेको छ। समूहको रिलायन्स स्पिनिङ मिल्सबाट उत्पादित धागो नेपालबाट सबभन्दा धेरै निर्यात हुने वस्तुमध्ये एक हो।

काठमाडौंको सोल्टीमोडमा यो समूहले गत वर्षदेखि पाँचतारे होटल हायात प्लेस सञ्चालनमा ल्याएको छ। पवन त्यसैको माथिल्लो तलामा बस्छन्। उनी बस्ने फ्ल्याटको ठीक तल उनको कर्पोरेट अफिस छ।

तर पवन अहिले यो साम्राज्य सम्हाल्दैनन्। आफ्नो समूहका धेरैजसो काम उनले छोरालाई सुम्पिएका छन् र आफू कृषितिर मोडिएका छन्।

कृषिमा बृहत् व्यवसाय निर्माण गर्नु, धेरैभन्दा धेरै किसानलाई जोड्नु र उनीहरूलाई पनि व्यवसाय गर्न सघाउनु उनको पछिल्लो सपना हो।

यही सपना साँचेर पवनले हजारभन्दा बढी किसानसँग मिलेर कृषिकर्म सुरू गरेका छन्। र, आफ्ना अरू व्यवसायबाट एक किसिमले अवकास लिएका छन्।

‘म अहिले किसान भएको छु,’ आफ्नो कर्पोरेट अफिसमा हामीसँग कुरा गर्दै पवनले भने, ‘मलाई सबभन्दा सन्तुष्टि दिने काम नै कृषि रहेछ भन्ने बुझिसकेँ। अब बाँकी समय यसमै बिताउँछु।’

उनको कृषिकर्म झापाको रङपुर गाउँबाट सुरू भएको हो।

पाँच वर्षअघि उनले रङपुर पुगेर केही किसानलाई भेटेका थिए। उनी ती किसानका घर-घर पुगे। त्यहीँ खाए, त्यहीँ रात बिताए। उनीहरूका कुरा सुने, उनीहरूको अवस्था बुझे। मरिमेटेर खेती गर्ने किसानलाई नै खान नपुगिरहेको अवस्था नजिकबाट देखे। रसायन र विषादीका कारण उनीहरूको स्वास्थ्यमा समस्या आइरहेको पनि थाहा पाए।

‘फलाएर खुवाउने किसानको यस्तो अवस्था देखेपछि म कृषिमै काम गर्न अझ दृढ भएँ,’ पवनले भने, ‘किसानको जीवन उकास्ने गरी र उनीहरूले दीर्घकालसम्म फाइदा लिन सक्ने गरी अर्गानिक खेती गर्न सिकाउँछु भनेर लागेँ।’

उनले ती किसानलाई भने, ‘तपाईंहरू जसरी काम गरिरहनुभएको छ, त्यसले तपाईंको जीविका महिनादिन पनि धानेको छैन। उत्पादन पनि अस्वस्थकर छ। त्यसैले अब बेग्लै तरिकाले काम गर्नुहोस्। जे गर्नुहुन्छ, जसरी गर्नुहुन्छ, म तपाईंहरूलाई सहयोग गर्छु।’

यति भनेर उनले अर्गानिक खेतीबारे कुरा राखे।

सुरूमा त किसानहरू तर्सिए — रसायन र विषादी नहाली उत्पादन कसरी बढ्छ!

यस्तै प्रश्न सामना गर्नुपर्ला भनेर पवन कृषि र माटोबारे जानकार विज्ञहरूको सानो टिम नै लिएर गएका थिए।

उनीहरूले सविस्तार बुझाए — विषादी, रसायनरहित खेती सस्तो पर्छ; यस्तो उत्पादनले राम्रो बजार भाउ पाउँछ र स्वास्थ्यलाई समेत फाइदा गर्छ।

विज्ञहरूले यति भन्दा पनि किसानको चित्त बुझेन।

पवनले उनीहरूलाई प्रमाणित गरेर देखाउने सोच बनाए। यसका लागि त्यही ठाउँमा दस कट्ठा जग्गा भाडामा लिए। त्यो जग्गा केही उब्जनी नहुने बञ्जर भूमि थियो। उनले त्यहाँ नमूना फार्म बनाए र धान खेती गर्ने सुर कसे।

यो देखेर केही किसानले चुनौती दिए — यो बञ्जर भूमिमा धान फलाएर देखाउनुभयो भने हामी तपाईंका कुरा पत्याउँछौं!

पवनका कृषि प्राविधिकले त्यहाँको माटो परीक्षण गरे। जैविक पोषण हाले। अनि ‘राधा’ नामको धान रोपे।

केही समयपछि धानका बोटमा लहलह पोटिला बाला देखेर स्थानीयहरू चकितै परे।

‘स्थानीय मात्र होइन, त्यो अचम्मको दृश्य हेर्न कृषि क्षेत्रका सरकारी अधिकारी र अन्य गाउँका मान्छेसमेत आएका थिए,’ पवनले सुनाए।

यो देखेपछि किसानहरू हौसिए र पवनले भनेअनुसार अर्गानिक खेती गर्न तयार भए।

पवनले आफ्नो बाचाअनुसार खेतीको चाँजो मिलाइदिए। उनीहरूलाई सघाउन एक जना प्राविधिक दिए। ती प्राविधिकले एक वर्ष त्यहीँ बसेर खेती सिकाए।

यसरी रङपुरका किसान प्रेरित गरेपछि पवनले आफ्नै ३५ कट्ठा जग्गामा खेती सुरू गरे।

बिस्तारै उनीहरूको कामको नतिजा आयो — स्ट्रबेरी, बेबी कर्नसहित बन्दा, काउली लगायत ५० थरी तरकारी र फलफूलले खेतबारी ढकमक्क भयो।

रसायन र विषादीमा खर्च नगरे पनि हराभरा भएको खेतबारी देखेर किसान दंग परे।

हेर्दाहेर्दै यो खेती २५ गाउँमा फैलियो।

पवन पनि आफू सफल भएको सोचेर फुरूंग परे।

pawan-golyan-(2)-1717154278.JPG

काम सुरू गर्नु एउटा कुरा, तर त्यसलाई फच्चे गरेर गति दिन सके बल्ल सफल मानिन्छ।

पवनलाई आफूले सुरू गरेको काम फच्चे गर्न चुनौती भयो।

किसानले फलाएका तरकारी-फलफूलले बजारमा धेरै मूल्य त के, लगानीको आधा पनि पाएन। सबैको मेहनत त खेर गयो नै, लगानी नउक्सिँदा जीविका चलाउन पनि मुस्किल हुने देखियो।

पवनले भने किसानको हात छाडेनन्। आफ्नो सहयोगमा किसानले फलाएका तरकारी-फलफूल आफै किने। किसानलाई परेको लगानी दिए र उत्पादन बजार पठाए। घाटा खाएर आधा मूल्यमै बेचे। धानको त चिउरा बनाएर उपहारका रूपमा बाँडे।

यो क्रम केही महिनासम्मै चल्यो। पवन घाटाको दलदलमा फस्दै गए।

‘हामीसँग एक हजार किसान जोडिइसकेका थिए। उनीहरूका उत्पादन किनेर बेच्दा हरेक महिना २५ लाख रूपैयाँ घाटा बेहोर्न परिरहेको थियो,’ उनले भने।

केही समय जेनतेन धाने पनि पवनलाई अब यसरी चल्दैन भन्ने भइसकेको थियो। तर आफ्नो कृषि सपना यसै बिसाएर हिँड्नेवाला उनी थिएनन्।

अनुभवी व्यवसायी नोक्सानसँग डराउँदैन, बरू समाधानको बाटो खोज्न थाल्छ!

पवनले पनि धेरै खोजबिनपछि समाधानका रूपमा भेटे — माटो।

किसानले फलाएका अर्गानिक तरकारी-फलफूल किनेर ती सबैलाई उनले ‘माटो’ नाममा ब्रान्डिङ गरे। ती उत्पादन काठमाडौं उपत्यका भित्र्याए। विभिन्न ठाउँमा पसल खोले। अनलाइन बजार पनि बनाए।

ठूलो माग भएको बजार छिरेपछि पवन र किसान दुवैलाई राहत भयो।

माटोले अहिले देशका विभिन्न ठाउँका किसानले फलाएका तरकारी, फलफूलसँगै गेडागुडी, मह, चिया, बेसार, अदुवा लगायत थुप्रै कृषिजन्य उत्पादन बिक्री-वितरण गर्छ।

यसरी धर्मराउँदै भए पनि पवनले कृषिमा पहिलो कदम चाले। उनले यो काम सामाजिक उत्तरदायित्वअन्तर्गत गरिरहेका थिए। जब खेती र माटो ब्रान्ड दुवैले राम्रै गति लिने छाँट देखियो, उनले व्यावसायिक स्तरमा खेती गर्ने सोच बनाए।

यसका लागि उनले काठमाडौंमा भण्डार-गृह बनाउन थाले। सँगसँगै, माटो ब्रान्डको प्रचारप्रसार पनि गरे।

यी सबै काममा करिब एक-डेढ वर्ष बित्यो। यसबीच उनले अर्को कुरा थाहा पाए — किसानहरू हौसिएर खेती त गर्छन् तर उनीहरूमा धैर्य कम छ। उनीहरू सालैपिच्छे वा सालमा दुई/तीनपटक फल्ने तरकारी, फलफूल मात्र लगाउन चाहन्छन्। धेरै लगानी पर्ने र फल्न दुई वर्षभन्दा धेरै लाग्ने उत्पादन उनीहरूको रोजाइमा पर्दैन।

‘यस्ता तरकारी-फलफूल कसले फलाउने त भन्ने भएपछि आफै काम गर्ने सोचेँ र थप जमिन किनेँ,’ उनले भने।

उनको सुरूको योजना दुई सय बिघा किन्ने थियो। किन्दै गए, कामको रफ्तार बढ्दै गयो। डेढ सय बिघा किनिसक्दा कोरोना महामारी अड्चन बनेर आयो।

यतिञ्जेल उनले जग्गा किन्न र खेतीमा चाहिने मल, सिँचाइ, बीउबिजन लगायतमा ५० करोड रूपैयाँभन्दा धेरै खर्च गरिसकेका थिए। तर कोरोनासँगै सबै काम सुस्त भयो। भारतबाट आएका कृषि विज्ञ फर्किए। खेतीको काम ठप्पै भयो। बारीभरि फलेका तरकारी-फलफूल खेर गए।

सबभन्दा धेरै घाटा करोडौं लगानी गरेर ३५ बिघामा लगाएको स्ट्रबेरीमा भयो। लटरम्म पाकेको स्ट्रबेरी बारीमै कुहिन थाल्यो।

लकडाउन भए पनि त्यसलाई बजारसम्म ल्याउन सकिन्छ कि भनेर पवनले सक्दो प्रयास गरे।

‘त्यो बेला बल्ल मलाई हाम्रो राज्य संरचना कस्तो रहेछ भन्ने थाहा भयो। भारतका जुनसुकै ठाउँबाट गाडीमा तरकारी-फलफूल आउन कुनै बाधा थिएन। तर मैले झापाबाट काठमाडौं ल्याउन सकिनँ,’ उनले भने, ‘म जत्तिको ठूलो किसानले त सकिनँ भने साना किसानले कसरी सक्लान्? आस पनि गर्न सकिँदैन।’

यो घाटाले उनलाई केही सिकाइ भने भयो — एकैखाले मौसमी तरकारी वा फलफूल धेरै जमिनमा खेती गर्न हुँदैन। एकैपटक पाक्ने भएकाले बेच्न गाह्रो हुन्छ। उपयुक्त प्रशोधन र भण्डारणबिना त्यसलाई धेरै दिन राख्न पनि सकिँदैन।

उनले अरू गल्ती पनि केलाउँदै गए, समाधान खोज्दै गए। थप अध्ययन गर्दै गए, विभिन्न परीक्षणमा एकोहोरिरहे।

कोरोनापछिका तीन वर्ष अध्ययन-अनुसन्धानमा बिताएपछि पवनले बेसार, अदुवा, ब्लू टी, तुलसी, पुदिना, क्यामोमाइल, लेमन ग्रास, बेलचन्डा (लालचन्द) खेती गरे। केरा, रूख कटहर, सिमल तरूल रोपे जसको पिठो बनाएर विदेशमा बेच्न सकिन्छ भन्ने उनलाई थाहा थियो।

‘अहिले गहुँ, चामल, मकैको पिठोमा ग्लुटेन अधिक हुन्छ, धेरै खान हुँदैन भनेर स्वास्थ्य अध्ययनहरूले भनेका छन्। यसको विकल्पमा काँचो केरा, रूख कटहर, सिमल तरूलको पिठो राम्रो हुन्छ। यी सुपर-फुड हुन्,’ उनले भने, ‘संसारका धेरै देशका मान्छेले यस्ता सुपर-फुड खाइरहेका छन्। यसलाई अरू पिठोसँग मिसाएर खान सकिन्छ। फाइबर, प्रोटिन धेरै हुन्छ। मधुमेह बिरामीका लागि त झनै राम्रो हुन्छ।’

त्यस्तै, चियाका रूपमा बेलचन्डा (लालचन्द) र बेरीहरूको विश्व बजार धेरै ठूलो भएको उनी बताउँछन्।

पवनले यी खेती यसै गरेका होइनन्। उनले पाँच वर्षभन्दा बढी धेरै खाले बाली लगाएर परीक्षण गरेका छन्। तीमध्ये माटो सुहाउँदो र ठूलो बजारको सम्भावना भएका तरकारी-फलफूल रोजेका हुन्।

यी सब काममा उनलाई सहयोग गरेका छन् प्रेम लामाले।

pawan-golyan-(3)-1717154277.JPG

प्रेम लामा दुई दशकदेखि काभ्रेको आशापुरीमा कृषि फार्म चलाइरहेका व्यक्ति हुन्।

पवनका अनुसार प्रेमलाई क्यान्सर भएको थियो। डाक्टरले धेरै बाँच्दैनौ भनेपछि बाँकी जीवन राम्रो खानपिन गर्छु भनेर आफै खेती गर्न थालेका थिए। बिस्तारै छिमेकी र आफन्तहरूले प्रेमले उब्जाएका तरकारी, फलफूल र विभिन्न किसिमका हर्बल चिया माग्न थाले।

‘स्वच्छ हावा र खानपिनले उहाँको स्वास्थ्य सुधार हुँदै गएछ। यसबाट उहाँले अर्गानिक खानेकुराको महत्त्व बुझ्नुभयो,’ पवनले प्रेमबारे भने, ‘त्यसपछि उत्पादन बढाउँदै बेच्न थाल्नुभएछ। नेपालमा भएका दूतावासहरूले मगाउन थालेछन्। उनीहरूले नै यति राम्रो उत्पादन छ, निर्यात गर्नुस् भनेर सुझाव दिएछन्। त्यसपछि अर्गानिक भएका प्रमाणपत्रहरू लिएर उहाँले व्यावसायिक खेती गरी विदेश पठाउन थाल्नुभएको रहेछ।’

कोरोना मत्थर भएपछि प्रेम पवनलाई भेट्न आएका थिए। पवनले थालेको कृषिकर्मबारे पत्रिकामा समाचार, अन्तर्वार्ता देखेर उनी प्रभावित भएका रहेछन्।

यो भेट उनीहरूका लागि सुखद र फलदायी भयो।

पवनसँग लगानी र उत्पादन बेच्न सक्ने खुबी थियो, प्रेमसँग खेतीको ज्ञान र अनुभव।

उनीहरूले सहकार्य गर्ने निधो गरे।

प्रेमले त्यो बेला आफूलाई भनेका कुरा पवनले सुनाए, ‘म ७० वर्षको भएँ। अब म आफूसँग भएको ज्ञान र अनुभव बाँड्न चाहन्छु। तपाईं मैले खोजेजस्तै शुद्ध मनले काम गर्नुहुँदो रहेछ। म यो कम्पनी तपाईंलाई दिएर जान चाहन्छु, एक रूपैयाँमा किन्नुस्।’

पवनले उनको कम्पनी यसरी किन्न चाहेनन्।

लामो छलफलपछि आ-आफ्नो कम्पनीको सम्पत्ति मूल्यांकन गर्ने र अर्को एउटा छाता कम्पनी बनाउने सहमति भयो। यसकै नतिजा हो, जनता एग्रो एन्ड फरेस्टिङ।

जनता एग्रोमा हालसम्म डेढ अर्ब रूपैयाँभन्दा बढी लगानी भइसकेको छ। केही पैसा बैंकको ऋण हो, केही साझेदारको। पवन आफैले ७० करोड रूपैयाँ हालेका छन्।

भर्खर बामे सर्दै गरेको जनता एग्रोबाट नाफा हात लागेको छैन। तैपनि लगानी थपेर दुई अर्ब रूपैयाँ पुर्‍याउने उनको योजना छ।

पवनले झापाबाट ‘कन्ट्र्याक्ट फार्मिङ’ पनि सुरू गरेका छन्। किसानसँग सम्झौता गरेर केही बिघामा सिमल तरूल खेती भइरहेको छ। अर्को वर्ष चार-पाँच सय बिघामा फैलिनेछ। कन्काइ नगरपालिकाको ६ हजार बिघा जग्गामा पनि खेती गर्न पहल भइरहेको छ। त्यहाँ हजारभन्दा बढी किसानसँग जोडिने उनको लक्ष्य छ।

‘कम्पनीले जे गरिरहेको छ, त्यसमध्ये अधिकांश प्रेमजीले गरेको कामकै विस्तारित रूप हो। प्रेमजी आफैले अर्गानिक खानेकुरा खाएर रोगलाई जित्नुभएको छ। त्यसैले कुनै हालतमा विषादी राख्दिनँ, राख्न दिन्नँ, राखियो भने म जोडिँदा पनि जोडिन्नँ भन्ने उहाँको अडान थियो। त्यसले मलाई उत्प्रेरित गर्‍यो। म पनि पैसा कमाउन होइन, देश र किसानका लागि काम गर्न खोजिरहेको थिएँ,’ पवनले भने।

सुरूमा जनता एग्रोले काभ्रे, चितवन, झापा लगायत ठाउँमा भएको आफ्नै जमिनमा खेती गरेको थियो। आफैले तरकारी-फलफूल फलाउन सके किसानले पनि सक्छन् र विश्वास गर्छन् भन्ने उनीहरूलाई लागेको थियो।

त्यसपछि उनीहरूले उत्पादन निर्यातको योजना बनाए।

प्रेमले यसअघि नै हङकङ, चीन, अस्ट्रेलिया, जर्मनी लगायत देशमा निर्यात गरिरहेका थिए। कोरोनाअघि उनका उत्पादनको माग धेरै थियो तर पूरा गर्न सकिरहेका थिएनन्। उता पवन निर्यातमा अनुभवी व्यवसायी हुन्। उनका धेरै उद्योगले विभिन्न वस्तु निर्यात गरिरहेका छन्। त्यसैले बजार अभाव र निर्यातमा समस्या हुँदैन भन्नेमा उनी ढुक्क भए।

पाँच वर्षअघि परीक्षणका रूपमा सुरू भएको पवनको कृषिकर्म अब व्यावसायिक रूपमा विस्तार हुँदैछ। जनता एग्रोले आफ्नै जमिन र किसानसँगको सहकार्यमा तराईदेखि मध्य पहाडसम्म खेती गर्दैछ। तराईको दुई सय बिघामा अम्बा, ड्रागन फ्रुट, कागती, सिमल तरूल, बेलचन्डा (लालचन्द), ब्लू-टी, आँप, बदाम, केरा, धान, दाल, सुपारी लगायत खेती हुँदैछ। मध्य पहाडमा ब्ल्याकबेरी, रास्पबेरी, ब्लुबेरी, स्ट्रबेरी, लहरे आँप, बेसार, अदुवा, हलेदो फलाउँदै छन्।

यीमध्ये बेलचन्डा, सिमल तरूल लगायत धेरैको पर्याप्त बीउ उपलब्ध छैन। नेपालमा पाइँदैन, पाइए पनि व्यावसायिक र निर्यातजन्य खेतीका लागि उपयुक्त नमानिने पवन बताउँछन्। आयात गर्दा धेरै महँगो पर्छ। त्यसैले यस्ता महँगा बीउ र बिरूवा यहीँ उत्पादन गरिरहेका छन्।

अहिलेसम्म ३०-४० बिघाका लागि पुग्ने बीउ र बिरूवा तयार भएको छ। पवनले त्यसमध्ये केही किसानलाई दिएका छन्, केही आफै खेती गर्दैछन्। अर्को वर्षसम्म ३०० देखि ५०० बिघाका लागि पुग्दो बीउ-बिरूवा उत्पादन हुनेछ। किसानलाई सहुलियत दरमा दिन स्थानीय सरकारसँग सहकार्य गर्ने पवनको योजना छ।

यति गर्न सके बल्ल किसान अर्गानिक खेतीमा प्रोत्साहित हुने उनको बुझाइ छ।

‘प्रेमजीले हजार डलरमा लालचन्दको एक किलो बीउ अस्ट्रेलियाबाट मगाएर खेती गर्नुभएको थियो। यति महँगो बीउ र बिरूवा दिएर किसानलाई खेती गर भन्न त सकिँदैन!’ उनले भने, ‘हामीसँग जोडिएका किसानले अहिले नै राम्रो प्रतिफल पाउने गरी काम गरिरहेका छन्। जब यी सबै कुरा विदेशी बजारमा बेच्नयोग्य छन् भनेर प्रमाणीकरण हुन्छ, तब झन् धेरै फाइदा हुन्छ।’

प्रमाणीकरण गर्न उत्पादन अर्गानिक छ, गुणस्तर राम्रो छ, उत्पादक किसानलाई मार परेको छैन भन्ने जस्ता विभिन्न मापदण्ड पूरा हुनुपर्छ। यसरी प्रमाणीकरण भएका उत्पादनको विश्व बजारमा माग धेरै भएको र ‘प्रिमियम’ दरमा बेच्न सकिने उनी बताउँछन्।

‘जनता एग्रोको उद्देश्य नै किसानले मोल नपाएर खेती गर्नै छाडेका अर्गानिक र सुपर-फुड फलाएर प्रिमियम दरमा बेच्ने हो। हामी आफै किसानसँग जोडिएर काम गर्छौं। सरकारको मुख हेरेर बस्दैनौं। मजस्तो मान्छेले पनि सरकारले नै केही गरिदियोस् भनेर, नगरिदिए दोष देखाएर बसेँ भने त कामै हुँदैन। गरिदिए खुसी हुने हो, नगरे आफै गर्ने हो,’ पवनले भने, ‘हाम्रो काम भनेको किसानको हराएको विश्वास फिर्ता ल्याउने हो।’

जनता एग्रोका अधिकांश उत्पादन देशकै बजारमा बिक्छन्। भर्खरै क्यानडामा निर्यात सुरू भएको छ। साउदी अरेबिया, कुवेत लगायत देशले पनि ठूलो मात्रामा किन्ने चासो देखाएको पवनले जानकारी दिए।

उनले निर्यात हुन सक्ने बाली मात्र खेती गरिरहेका छैनन्। यसो गर्दा अन्नबाली कम हुँदै जान्छ भन्ने उनलाई हेक्का छ। त्यसैले ‘क्रप क्यालेन्डर’ बनाएका छन्। यो क्यालेन्डरमा मौसम र माटोअनुसार कुन बेला कुन बाली लगाउने भन्ने उल्लेख छ। एकैपटकमा एउटा अन्नबाली र एउटा निर्यातजन्य बाली मिलाएर खेती गरिरहेको उनी बताउँछन्।

पूरा जीवन व्यवसायमा बिताएका ६६ वर्षीय पवन आफूले थालेको कृषिकर्मलाई ‘स्टार्टअप’ मान्छन्। उनलाई यो स्टार्टअप सफल बनाउने चुनौती छ र सफल हुनेमा विश्वस्त पनि छन्।

आगामी दस वर्षमा देशभरका किसानसँग जोडिएर जनता एग्रोलाई सबभन्दा ठूलो कृषि कम्पनी बनाउने सपना उनले देखेका छन्। यसका लागि किसान, कृषिकर्म गर्न इच्छुक अरू व्यक्ति र संस्थाको पनि सहयोग चाहिने उनको भनाइ छ।

‘सपना देख्नु नै छ भने सानो देख्नु हुँदैन। मैले जीवनमा लक्ष्य बनाउँदै पूरा गर्दै गएँ। अब कृषिकर्म नै मेरो अन्तिम लक्ष्य हो, यसलाई जसरी पनि पूरा गर्नुछ,’ उनले भने।

पवन किसानका आँखामा पनि सपना र आशा देख्छन्। आफूसँग जोडिएका किसान भेट्दा र उनीहरूको भरोसा देख्दा उनलाई थप जिम्मेवारी महसुस हुन्छ। त्यसैले उनीहरूको जमिनमा उपयुक्त, दिगो र राम्रो आम्दानी हुने खेती कसरी गर्न सकिन्छ भनेर सुझाव दिन्छन्। आवश्यक परेका ठाउँमा सहयोग गर्छन्।

ती किसानमध्ये एक-दुई जनाको मात्र जीवनमा सकारात्मक परिवर्तन आए पनि आफ्नो उद्देश्य पूरा हुने उनी बताउँछन्।

दुई-तीन महिनाअघि उनले सहयोग गरेका एक युवाले उनलाई भेटेर भने, ‘तपाईंलाई भेटेपछि आजभोलि मेरो काम गर्ने तरिका फेरिएको छ। वर्षमा करोडको कारोबार हुन्छ। खेतीको जमिन बढाइरहेको छु। धन्यवाद दाइ!’

त्यो दिन उनी धेरै खुसी र थोरै भावुक भए। राम्रै काम गरेको रहेछु भन्ने उनलाई लाग्यो।

‘मैले धेरै काम गरेँ, लाखौं, करोडौं कमाएँ। तर त्यो केहीबाट मलाई भित्री सन्तुष्टि भएन,’ पवनले भने, ‘अहिले माटो र किसानसँग जोडिएपछि मलाई हरेक दिन नयाँ खुसीको अनुभूति हुन्छ।’