पूर्वाधार अघिअघि, पर्यटक पछिपछि

कान्तिपुर

पर्यटन प्रवर्द्धनमार्फत प्रचुर लाभ लिने सम्भावना बोकेको मुलुकका रूपमा नेपाललाई चिनिन्छ । पछिल्लो समय नेपालमा पर्यटन पूर्वाधार थपिने क्रम बढिरहेको छ । पूर्वाधार थपिँदा मुलुकको पर्यटनमार्फत आर्थिक समृद्धिको सम्भावना बलियो हुन्छ । 

कोभिड महामारीपछि नेपालमा पर्यटक घटे । नेपाल भित्रने जोकोहीमा कोभिड संक्रमण भए–नभएको पत्ता लगाउन सरकारले पीसीआर परीक्षण अनिवार्य गरेको थियो । त्यसैले पनि कोभिडका बेला कम पर्यटक नेपाल भित्रिए ।

सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ पर्यटक नेपाल भित्रिएका थिए । उक्त तथ्यांकले पर्यटकको आगमन सन् २०१९ तिर नै फर्केको देखाएको छ । सन् २०२५ मा पर्यटकको आगमन गत वर्षको तुलनामा १२ प्रतिशतसम्म वृद्धि हुने अनुमान छ ।

पर्यटकको आगमन संख्या अन्तर्राष्ट्रिय विमानस्थलमै भर पर्छ । निर्माण तथा स्तरोन्नतिका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कहिले १२ घण्टा त कहिले १० घण्टा बन्द भइरहेको छ । विमानस्थल पूर्ण रूपमा सञ्चालन नहुँदा पर्यटक आवागमन प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा वा २० घण्टा खुला हुँदा जहाजको उडान र पर्यटकको संख्या बढी हुन्छ । छिटफुट उडान भए पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा आउन सकेका छैनन् ।

नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन हवाई र सडक पूर्वाधारको अभाव छ । पूर्वाधार पर्याप्त नहुँदा पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना भए पनि नेपालले अपेक्षित लाभ लिन सकेको छैन । नेपालमा मुख्य समस्या हवाई र सडक पूर्वाधारकै हो । हवाई पूर्वाधार निर्माण भए पनि सञ्चालनमा आउन सकेका छैनन् । सडक पूर्वाधारको अवस्था उस्तै छ । निर्माणाधीन सडक अस्तव्यस्त छन् । निर्माण अवधि लम्बिँदै जाँदा घुम्न आएका पर्यटकले विभिन्न सास्ती भोग्नुपरिरहेको छ ।

नेपाल आउने पर्यटक काठमाडौंमै अवतरण गर्न बाध्य छन् । पोखरा, सगरमाथा, अन्नपूर्ण, जोमसोमलगायत क्षेत्रमा हेलिकोप्टरमार्फत जान महँगो हुन्छ । तर सडक पूर्वाधार पनि राम्रो छैन । पछिल्लो समय हवाई यातायातमा समेत ‘फ्लाइट सेफ्टी’ राम्रो छैन । पर्यटक डराइरहेका छन् । हवाई र सडक पूर्वाधार राम्रो हुने हो भने पर्यटकको आगमन बढ्ने र पर्यटन क्षेत्र राम्रो हुनेछ ।

पर्यटन क्षेत्रलाई आक्रामक रूपमा बढाउन हवाई तथा सडक पूर्वाधार निर्माण तथा स्तरोन्नतिमा सरकारले जोड दिनुपर्छ । विमानस्थल र त्यसका सेवालाई अझै चुस्त बनाउन जरुरी छ । पहिला हेरेर अहिले ‘ब्यागेज क्लेम’ मा सुधार गरेको छ । त्यसरी नै ‘इमिग्रेसन’ मा हुने लामो लाइनलाई व्यवस्थित बनाउनुपर्नेछ ।

घुम्न आएका पर्यटकले आफ्नो देश फर्केपछि नेपालमा घुमेका ठाउँ तथा देखेका कुरा सुनाउँछन् । त्यसपछि उनीहरूका समूह घुम्न आउन लालायित हुन्छन्, आउँछन् । विदेशी पर्यटकको आवागमन बढाउन सकिन्छ । तर नेपालबारे सुनाउन केही भेट्दैनन् । र, विमानस्थलदेखि नै भोगेका सास्ती सुनाउँछन् । नेपाल आउने मनस्थिति बनाएकाहरू पनि जाने कि नजाने सोच्न बाध्य हुन्छन् । त्यसकारण हामीले पूर्वाधारमा विशेष जोड दिनुपर्नेछ ।

काठमाडौं उपत्यकामा अहिले अन्तर्राष्ट्रिय ब्रान्डका होटल आइसकेका छन् । चितवनमा वन्यजन्तु पर्यटन (वाइल्ड लाइफ टुरिजम) का लागि ४/५ वटा होटल छन् । बर्दियालगायत राष्ट्रिय निकुञ्जभित्र भने होटल बन्न सकेका छैनन् । पर्यटनभित्र ‘वाइल्ड लाइफ टुरिजम’ अर्को अवसर हो । वन्यजन्तुको संख्या राम्रो भएकाले अफ्रिकामा पर्यटन प्रवाह राम्रो छ । पर्यटनका लागि बाघको संख्या भारत र नेपालमा धेरै छ ।

यसलाई अझै बढाउन सकिन्छ । भारतको कर्बेट बाघ आरक्ष र रणथम्बोर राष्ट्रिय निकुञ्जभित्र धेरै विलासी होटल तथा क्याम्प सञ्चालनमा छन् । अमेरिका, युरोपदेखि चिनियाँ मुलुकका पर्यटकको आगमन बढ्दो छ । तर नेपालमा शून्य छ । वन्यजन्तु पर्यटनबारे हामी सबैले सोच्नुपर्नेछ । यसमा हामीले योजना बनाएर काम गरिरहेका छौं ।

नेपाल धार्मिक पर्यटनका लागि प्रचुर सम्भावना बोकेको मुलुक हो । धार्मिक विविधता र संस्कृति प्रवर्द्धनमार्फत पर्यटकको आवागमन बढाउने अवसर प्रशस्त छन् । अहिले भारतमा भइरहेको कुम्भमेलाले विश्वकै रेकर्ड तोडेको छ ।

हामीसँग भगवान् शिवको आराधनाका लागि पशुपतिनाथ छ । पशुपतिनाथ मन्दिर प्राचीन धार्मिकस्थल भएकाले पूजास्थल, मठमन्दिर र मूर्ति तथा अभिलेखको खुला संग्रहालय हो । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन, सौर, गाणपत, नाथ, सिखलगायत प्रमुख सम्प्रदायका भक्तजनका लागि आस्था एवं श्रद्धाको केन्द्र हो । जहाँ गए पनि पशुपतिनाथको दर्शन नगरेसम्म चारधाम पूरा हुँदैन । त्यसकारण पनि हामीले यस क्षेत्रको थप प्रचार र प्रवर्द्धन गरी विभिन्न मेला–महोत्सव आयोजना गरेर विदेशी पर्यटक भित्र्याउन सकिन्छ ।

भारतको महाकुम्भ मेलामा विश्व समुदायको नजर परिरहेको छ । त्यसरी नै पशुपति क्षेत्रलाई चलायमान बनाउन सक्नुपर्छ । शान्तिका नायक गौतम बुद्ध जन्मेको ठाउँ लुम्बिनीमा समेत पर्यटकीय आकर्षण बढाउन सकिन्छ । यहाँ हिन्दु र बौद्ध धर्मावलम्बीको आकर्षण बढाउने गरी काम गर्न सकिन्छ ।

बौद्ध शिक्षा र धर्मको महत्त्वलाई फैलाएर लुम्बिनी क्षेत्रको प्रवर्द्धन गर्न सके विभिन्न मुलुकका हिन्दु तथा बौद्ध धर्मावलम्बी नेपाल भित्रिनेछन् । भुटान र तिब्बतका नागरिक बौद्ध धर्मबारे अध्ययन गर्न लुम्बिनी आइरहेका छन् । धार्मिक पर्यटनका माध्यमबाट मुलुकले ठूलो लाभ लिन सक्नेछ । माता सीताको जन्मभूमिका रूपमा विश्वप्रसिद्ध जनकपुरधाम नेपालमै छ । भारतमा अयोध्याधाममार्फत धार्मिक पर्यटनको विकास गरिए जसरी जनकपुरधामको प्रचारप्रसार र प्रवर्द्धनमार्फत पर्यटक भित्र्याउन सकिनेछ ।

पछिल्लो समय भारतको अयोध्याधाममा धार्मिक पर्यटनको आकर्षण बढिरहेको छ । जनकपुरधाममा समेत धार्मिक पर्यटनको चहलपहल बढाउन ध्यान दिनुपर्छ । यी धार्मिकस्थललाई दृष्टिगत गरेर समयमै होटल तथा अन्य पूर्वाधारको विकास गर्न जरुरी छ ।

क्रिस्चियनहरूका लागि ‘भ्याटिकन’, इस्लामका लागि ‘मक्का’ र हिन्दुका लागि चारधाम मुख्य मानिन्छन् । बौद्ध धर्मावलम्बीका लागि लुम्बिनीलाई त्यस्तै धाम बनाउन सकिन्छ । त्यसका लागि हामीले लुम्बिनीमा ‘ह्यात रिजेन्सी’ बनाइरहेका छौं । झन्डै ७ बिघा जग्गामा १७५ कोठाको लक्जरी रिसोर्ट बनाइरहेका छौं । रिजेन्सीको डिजाइन सकेर निर्माणको काम अर्को महिनादेखि सुरु हुनेछ । रिसोर्ट सञ्चालनमा आउन केही वर्ष लाग्छ । लुम्बिनीभित्र बौद्ध धर्मावलम्बीलाई लक्ष्य गरी होटल र पूर्वाधार निर्माणको काम गर्न निजी क्षेत्रले चासो दिइरहेको छ । यसमा सरकारले सहजीकरण गर्नुपर्छ ।

पर्यटनमा नेपाल ट्रेकिङ गन्तव्यका रूपमा मात्रै परिचित छ । पर्यटनका अन्य आयामको त्यति प्रवर्द्धन हुन सकेको छैन । वन्यजन्तु पर्यटन, साहसिक पर्यटन, धार्मिक पर्यटकीय क्षेत्रलगायत विभिन्न आयाममार्फत पर्यटन प्रवर्द्धन हुन सकेको छैन । ट्रेकिङका आफ्नै चुनौती र अवसर छन् । यसमा पूर्वाधार र लजिस्टिकका चुनौती समाधान भए पर्यटक अझै बढ्छन् । ट्रेकिङका लागि मात्र नभई वाइल्ड लाइफ र धार्मिक पर्यटनको गन्तव्यका रूपमा समेत नेपाललाई प्रवर्द्धन गर्नुपर्छ । जुनसुकै मुलुकका नागरिक नेपालमा आएपछि कहाँ–कहाँ जान सकिन्छ ? के–के अनुभव गर्न सकिन्छ ? यस्ता खालको बजारीकरण सरकार र निजी क्षेत्रबाट हुन सकेको छैन ।

मलेसिया, थाइल्यान्डलगायत मुलुकको पर्यटकीय गन्तव्यबारे जानकारी लिन गुगलमा हेर्ने हो भने सरकारी तथा निजी क्षेत्रबाटै सातै दिन वा १५ दिनमा कहाँ–कहाँ जान सकिन्छ ? मुख्य गन्तव्य के हो ? छुटाउनै नहुने के हो ? सबै समेटेर ‘आइटिनरी’ बनाएको हुन्छ । अहिले सबै अनलाइनमार्फत पाइन्छ । त्यस्तो प्लाटफर्म सरकारले बनाउनुपर्नेछ । ‘गुगल’ मा नेपालको पर्यटकीय गन्तव्य खोज्दा ट्रेकिङ मात्र नभई वन्यजन्तु, धार्मिक, सांस्कृतिक, इतिहासलगायत क्षेत्र ‘हाइलाइट’ गर्न जरुरी छ । यसमा निजी क्षेत्र पनि जोडिन इच्छुक छ ।

भूपरिवेष्टित देश भएकाले नेपालमा ऊर्जा र पर्यटनको अवसर छ । ऊर्जामा राम्रो काम भइरहेको छ । नेपालको पर्यटन क्षेत्र काठमाडौं, सगरमाथा र पोखरामा मात्र सीमित हुनुहुँदैन । देशभर पर्यटन क्षेत्रको विकास र सञ्चालनमा ल्याउन जरुरी छ । सरकारले पूर्वाधार निर्माणमा जोड दिनुपर्छ । अहिले स्थानीय पर्यटकको गन्तव्य पोखरा र चितवन बनेको छ । पोखरा र चितवनपछि अर्को गन्तव्य लुम्बिनी बनाउने हाम्रो प्रयास हो । यसमा सरकारले पनि आफ्नो भूमिका खेल्नुपर्छ ।

अहिले हामीले लुम्बिनीमा एउटा रिसोर्ट मात्रै बनाउन लागेका छौं । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आयो भने होटल तथा रिसोर्टको अभाव हुनेछ । त्यसकारण लुम्बिनीमा होटल पर्यटनको ठूलो सम्भावना छ । सरकारले निजी क्षेत्रलाई साथमा लिएर लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकासको काम गर्नु अहिलेको आवश्यकता हो ।