https://nepalkhabar.com/np/news/business/42683/
अक्षय गोल्यान, काठमाडौंको एउटा अग्रणी बिजनेश हाउस गोल्यान समूहका निर्देशक हुन्। स्पेनमा एमबीए अध्ययन सकेर सन् २०१४ मा नेपाल फर्केका अक्षय आफ्नो पुख्र्यौली व्यवसायमा पनि कसरी देशको हितमा बढी काम गर्न सकिन्छ भनेर सोचिरहन्थे। आयातित व्यापारबाट मात्र देशको भलो नहुने भन्दै उनले देशभित्रै उत्पादन गरी विदेशमा निर्यात गर्ने व्यवसायमा हात हाल्न चाहे। आफ्नो पुख्र्यौली धागो उद्योगलाई नियालेर हेरे र स्वदेशमा उत्पादन गरी विदेशमा बिक्रिवितरण गर्न सकिने खालको उद्योग भएकाले परिवारिक छलफलपछि रिलायन्स धागो उद्योगको जिम्वेवारी लिए। अक्षयले रिलायन्सको जिम्वेवारी सम्हालेको करिब ५ वर्ष पूरा हुन लागेको छ। स्वदेशमा वस्तु उत्पादन गरी विदेशमा निर्यात गरिरहेका र त्यसमा सफलता पनि हासिल गरिरहेका उनै युवा उद्यमी अक्षय गोल्यानको अनुभव, नेपालखबरका दीपक भट्टसँगको वार्तामाः
गोल्यान ग्रुपको वित्तिय कम्पनीदेखि अन्य धेरै क्षेत्रमा लगानी छ, तर तपाईंले किन टेक्टाइल क्षेत्र रोज्नु भयो?
आफ्नो भविष्यको खोजी गर्ने बेलामा मैले धेरै विचार गरें। पैसा मात्रै कमाउन खोजेको भए परिवारले मलाई जस्तोसुकै व्यापारमा पनि लगाउन सक्थ्यो। आयातमुखि व्यापार गर्ने हो भने थोरै मेहनतबाटै धेरै पैसा नेपालमा कमाउन सकिन्छ। तर मेरो एउटा सोच थियो, आफुले काम गर्दा देश र समाजलाई पनि फाइदा होस्। सर्वसाधारणले रोजगारी पाउन्। सरकारले आफ्नो देशको उत्पादन यस्तो छ भनेर गौरव गर्न सकोस् भन्ने हिसवाले सोचें। त्यसपछि मैले उत्पादनमुखि व्यवसाय रोजेको हो।
मेरो बुवाले विक्रम सम्वत् १९९४ देखि सञ्चालन गर्नु भएको रिलायन्स स्पिनिङ मिल विराटनगरमा थियो। त्यसलाई मेरो नेतृत्वमा सञ्चालन गर्छु भन्ने निर्णय गरें। परिवारले पनि साथ दियो। मैले यो कम्पनी अहिले नाफा कमाउने उद्देश्यले मात्रै सञ्चालन गरेको छैन। मैले काम सुरु गर्दा विदेश निर्यातको अवस्था एकदमै कमजोर थियो। यो कम्पनीको उत्पादन नगन्य मात्रामा मात्र विदेश निर्यात हुन्थ्यो। अहिले वार्षिक ७ अर्ब रुपैयाँ बराबरको धागो निर्यात गरिरहेको छु। मेरो धागो मिलले १५ सय महिलासहित करिब ४ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ।
समग्रमा नेपालमा धागो उत्पादनको अवस्था कस्तो छ?
नेपालमा धागो उत्पादनको भविष्य त एकदम राम्रो छ। तर अहिलेको अवस्था हेर्ने हो भने धेरै कमजोर छ। कपडा व्यवसाय भनेको जहिले पनि माग बढी भएको क्षेत्र हो। हामी सबैले हरेक महिना जस्तो कपडा किन्ने गर्छौ। जीवनमा धेरै कपडाको उपयोग गर्छौं। यसको उत्पादन तथा बिक्रिवितरणको अवस्था पनि राम्रो हुनु पर्ने हो। तर त्यस्तो छैन। हामी कुल मागको ९० प्रतिशत विदेशीको भरमा छौं। त्यसैले धागोको खपत पनि नेपालमा राम्रो छैन। अहिले नेपाली धागोको धेरै बिक्रि टर्किमा हुन्छ। टर्किले नेपालको धागोमा ‘एन्टी डम्पिङ’ लगाएको छैन। त्यसैले अहिलेसम्म धागो उद्योगीहरु बाँचिरहेका छन्। नेपालको कुल धागो उत्पादनको आधा पनि नेपालमा खपत भैरहेको छैन। तर हामी धागोको उत्पादन बढाउने योजना बनाइरहेका छौं।
नेपाली कपडा उद्योग कमजोर हुनु र आयातित कपडाको मार्केट बढि हुनुको कारण के हो?
नेपाली कपडाले विदेशीसँग प्रतिस्पर्धा गर्न सक्दैनन्। मुख्य कारण यही हो। नेपालमा भन्सार छलिका कपडा धेरै भित्रिएको पाइन्छ। बजारमा रहेका विदेशी कपडामध्ये ८० प्रतिशत भन्सार छलिका हुन्। अब यसलाई सरकारले निगरानी राख्नु पर्यो।
भन्सार कडाईका लागि यो वर्ष अर्थमन्त्रीबाट केही निर्देशन भएको छ, तपाईंहरु जस्तो लगानी गर्न सक्ने व्यवसायीले यो क्षेत्रमा विकासको योजना कसरी बनाउनु भएको छ?
नेपालमा टेक्सटायल जस्तो संभावना बोकेको अन्य क्षेत्र नै छैन जस्तो लाग्छ मलाई। चीन, भारतको पनि उदाहरण लिन सकिन्छ। ती देशहरुमा कुल जनसंख्याको करिब ५ प्रतिशत मान्छे यो क्षत्रमा मात्रै आवद्ध भएका छन्। नेपालको भने अहिले नगन्य लगानी यसमा रहेको देखिन्छ। मैले आफ्नो मात्रै कुरा गर्ने हो भने, धागो उत्पादनको वृद्धि कसरी गर्ने र यसलाई कसरी अघि बढाउने भनेर म काम गरिरहेको छु। रिलायन्स कम्पनी सबै भन्दा धेरै धागो उत्पादन गर्ने र विदेशमा निर्यात गर्ने कम्पनी हो। अब नेपालको धागो तथा कपडाको ब्राण्डिङ कसरी गर्न सकिन्छ भनेर सोचिरहेको छु। स्वदेशी उत्पादनको माग पनि थुप्रो छ। तर कसैलाई पनि थाहा छैन कुन नेपाली उत्पादन हो भनेर। नेपाली उत्पादन कस्तो गुणस्तरको छ भनेर उपभोक्तले पनि थाहा पाउनु पर्यो नि। नेपालको समस्या भनेको मैले अघि पनि भनें, विदेशी सामान धेरै आउँछ, नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्दैन। अनि हामी सधैं ओझेलमा। म यथास्थितिमा बस्नेवाला छैन। अब विस्तारै कपडा उत्पादनमा हात हाल्दैछु। कसरी हुन्छ, नेपालमा नेपाली कपडालालाई लोकप्रिय बनाएर छोड्ने योजनामा छु। त्यसका लागि लगानीका कुराहरु त अवश्य बढाउनु पर्ने हुन्छ।
भन्सार तिरेरै भित्रिएको कपडा पनि नेपाली भन्दा सस्तो हुन्छ भनिन्छ, यसको कारण के हो?
यो खुद्रा व्यपारीको हल्ला पनि हो। खुद्रा व्यपारीले नेपाली कपडा देखाएर गुणस्तरका हिसावले नेपाली भन्दा विदेशी राम्रो छ, मूल्य पनि सस्तो छ भन्ने कुराहरु गरिरहेका हुन्छन्। त्यो उनीहरुको बेच्ने रणनीति मात्रै हो। नेपाली कपडा बजारमा धेरै उपलब्ध छैन। खुद्रा व्यपारीहरुले धेरै विदेशी कपडा बेच्नु पर्ने हुन्छ। हुनसक्छ, कुनैमा नेपाली भन्दा विदेशी सस्तो पनि होला, सरकारको नीतिका कारणले। भारत, बंगलादेश, चीनले निर्यातमा उद्योगी व्यवसायीलाई सहुलियत प्रदान गरेका छन्। त्यो सहुलियतको करण अहिले विदेशबाट आउने कपडा सस्तो छ। हरेक कपडा मिटरको हिसावमा आउँछ, तयारी पोशाक बाहेक। तर बंगलादेशबाट किलोको हिसावले कपडा नेपाल भित्रिइरहेको छ। किनकी उनीहरु नेपालमा धेरै निर्यात गर्न चाहन्छन्। त्यसरी नेपाल भित्रिएको कपडा पक्कै पनि गुणस्तरीय हुने त कुनै भएन।
गुणस्तरको कुरा गर्ने हो भने नेपाली गुणस्तरमा नेपाली उपभोक्ता ढुक्क भए हुन्छ त?
नेपाली बजारमा बिक्रि हुने साधारण कपडा जुन विदेशबाट आयात भएको छ, त्यसको तुलनामा नेपालमा उत्पादन भएको कपडा कमजोर छैन। तर विदेशमा नेपाली कपडाको ब्राण्डिङ गर्न हाम्रो मेहनत पुगेको छैन। हामी टर्किमा धागो पठाउँछौं। यूरोपका हरेक कपडा उद्योगले हामीले उत्पादन गरेको धागो प्रयोग गरिरहेका छन्। तर कपडामा भने हाम्रो फिनिसिङ राम्रो छैन। मेरो योजना, राम्रो मेसिन ल्याएर नेपालमै राम्रो कपडा उत्पादन गर्ने र स्वदेश तथा विदेशमा त्यसको ब्राण्डिङ गर्ने हो।
धागोकै कुरा जोडौं, नेपालले टर्किमा धागो निर्यात गरिरहेको छ, बंगलादेश पठाउने कुरा के भयो?
नेपाल सरकारको पहलमा बंगलादेश निर्यात गर्ने कुरा भएको थियो। वाणिज्य सचिवस्तरीय बैठक जेठमा बसेको थियो। त्यसले एक किसिमको सहमति पनि गरेको थियो। तर हाललाई आयात गर्न नसकिने भनेर बंगलादेशबाट कुरा आएको छ। यसमा हामी उद्योगी भन्दा पनि सरकारी तवरबाट कुरा मिलाउनु पर्छ जस्तो लाग्छ। सरकारले कुटनीतिक रुपमा धागो निर्यातको बाटो निर्माण गरे आफ्नो उत्पादन पठाउन हामी तयार छौं।
नेपालमा धागो उत्पादनको अझै धेरै संभावना छ, जसले व्यापार घाटालाई केही कम गर्न सक्छ?
मैले त्यसो भन्न खोजको होइन। कुनै पनि देशमा कपडाको माग धेरै हुन्छ र, माग धेरै भएको वस्तु आफ्नै देशमा उत्पादन भएन, विदेशको मात्रै भर पर्नु पर्यो भने व्यापार घाटा बढ्दै जान्छ। त्यसैले नेपालमा नै कपडा उत्त्पादन गर्नुपर्छ। नेपालमा धागोलाई चाहिने कच्चा पदार्थ विदेशबाट नै ल्याउने हो। थाइल्याण्ड लगायत तेस्रो मुलुकबाट हामी फाइवर खरिद गरिरहेको छौं।
कच्चा पदार्थ ल्याउँदा तथा प्रशोधन गरेर निर्यात गर्दा सामना गर्नु परेका समस्या के कस्ता छन्?
पहिलो कुरा त नेपालको समस्या भनेको पोर्ट (बन्दरगाह) नै हो। नेपालमा समुद्री पोर्ट छैन। त्यसकारण आयातमा होस् वा निर्यातमा हाम्रो लागत अलि बढी भैहाल्छ। नेपाली धागोले विदेशीसँग प्रतिस्पर्धा गर्न सक्दैन्। टर्कि जस्तो देशले नेपाली धागोलाई एण्टि डम्पिङ कानुन नलगाएकाले नै अहिलेसम्म हामी बाँचेको हो।
धागो तथा कपडा उद्योगी विकास गर्न सरकारले के गर्नुपर्छ?
हाम्रो माग धेरै ठूलो पनि छैन। सरकारले अवैध रुपमा नेपालसमा कपडा भित्रिन दिनु भएन। अर्को कुरा, नेपालको कपडा उद्योग एकदम धरासायी अवस्थामा छ, तिनिहरुका लागि केही सहुलियत दिनु पर्यो। सरकारले यसअघि भ्याट फिर्ता दिँदै आएको थियो, यो बजेटबाट त्यो प्रक्रिया पनि हटाएको छ। कपडा उद्योगलाई अहिले सरकारको संरक्षणको अवश्यकता छ। यो संरक्षण सधै चाहिन्छ भन्ने पनि छैन। सरकारले नेपाली कपडाको ब्राण्ड विकास नभएसम्मका लागि केही सहयोग गर्नुपर्छ।
नेपालमा रोजगारीका अवसर धेरै छैनन्, रोजगारी पाएकाले पनि काम गरेर जिविका चाउन गाह्रो परिरहेको छ, तपाईं जस्तो उर्जाशिल उद्यमी यसमा के सोच्नुहुन्छ?
नेपालको अवस्था तपाईंले भनेजस्तै छ। त्यसमा मेरो दुईमत छैन। तर म आफ्नो कम्पनी विस्तार गर्ने र धेरै भन्दा धेरैलाई रोगजारी दिने योजनामा छु। यसो गर्दा बेरोजगारहरुले रोगजार पाउने भए। अर्को कुरा हामी आफ्नो कम्पनीमा काम गर्नेलाई आफ्नै परिवार जस्तो वातावरण दिनुपर्छ भनेर लागिरहेका छौं। हामीसँग काम गर्नेहरुका लागि खाना खाने, आराम गर्ने, खेल खेल्ने अवसरको बन्दोबस्ती गर्न मैले हाम्रो विराटनगरमा रहेको कम्पनीमा काम सुरु गरिसकेको छु। यो मात्रै नभएर मैले नेपालको मुख्य श्रमशक्ति महिलालाई देखेको छु। कतिपय महिलाहरूले आफ्ना साना बच्चा भएका कारण काम गर्न पाएका छैनन्। मैले आफ्नै कम्पनीमा चाइल्ड केयर सेन्टर खोलेर महिलाहरूलाई काममा ल्याउने योजना बनाएको छु। नेपालमा अहिलेसम्म कुनै कम्पनीले यस्तो काम सुरु गरेको छ जस्तो मलाई लाग्दैन। हामी त्यो गर्दैछौं।
देशमा काम गर्न चाहने युवा धेरै छन् जोसँग सीप छैन, यो समस्या कसरी समाधान होला?
हो, त्यही भएर हामी कपास उत्पादनलगायत कृषि व्यवसाय सम्बन्धी तालीम दिइरहेका छौं। गोल्यान समूहले तालीम दिएका कृषक तथा महिला उद्यमीका उत्पादनको बजारीकरणमा पनि समूहले सहयोग गर्ने गरेको छ। त्यस्तै कम्पनीमा काम गर्ने कामदारलाई पनि सीप विकासका लागि तालिमको व्यवस्था त गर्दै आएका छौं। अझै नयाँ प्रविधिको जानाकारी गराउने गुणस्तरीय उत्पादन कसरी गर्ने भनेर त्यस सम्बन्धी तालिमको पनि व्यवस्था गर्दै जाने छौं। नयाँ प्रवेश गर्नेको लागि छुट्टै तालिमको व्यवस्था पनि हामी गर्नेछौं।