Source: Setopati
कटन धागो नेपालमै उत्पादन गरेर निर्यात गर्छौं: अक्षय गोल्यान (अन्तर्वार्ता)

करिब पचास वर्षको व्यावसायिक विरासत भएको गोल्यान समूह टेक्सटाइल उद्योगबाट उदाएको हो। गोल्यान समूहले अहिले निर्यातजन्य उत्पादन, होटल, हाइड्रो तथा कृषिमा लगानी गरेको छ।
सोहनलाल गोल्यानले स्थापना गरेको ‘गोल्यान समूह’ दोस्रो पुस्ता हुँदै तेस्रो पुस्तामा हस्तान्तरण भएको छ।तेस्रो पुस्ताको नेतृत्व अक्षय गोल्यानले लिएका छन्।
गोल्यान समूहका अध्यक्ष बनेका अक्षयसँग अबको योजना, उनले देखेका चुनौती, भावी योजना लगायत विषयमा सेतोपाटीका सुनिता सिटौलाले गरेको कुराकानीको सम्पादित अंश:
तपाईं पहिलेदेखि नै व्यवसायमा प्रवेश गरिसक्नुभएको थियो। व्यवसाय अपरेशनमा तपाईंले काम गरिसक्नुभएको छ। अब समग्र समूहको नेतृत्वमा पुग्दा कस्तो योजना बनाउनु भएको छ?
नेपालमा कुन किसिमको बिजनेसको आवश्यकता छ। कुन बिजनेस नेपालमा फस्टाउँछ भनेर तीन वर्षअघि हाम्रो समूहले भिजन बनाएको थियाे। त्यही अनुसार हाम्रो बिजनेस चार वटा क्षेत्रमा लक्षित छ। निर्यातमूलक, पर्यटन (होटल), ऊर्जा र कृषि। यही बिजनेस कसरी अगाडि बढाउने, कसरी रोजगारी सिर्जना गर्ने भन्ने विषयमा म केन्द्रित हुन्छु।
निर्यातमूलक, पर्यटन, उर्जा तथा कृषि त पुरानो पुस्ताकै सोच हो। यो बाहेक नयाँ बिजनेस केही सोच्नु भएको छैन?
अहिले तत्काल नै नयाँ बिजनेसको बारेमै त केही सोचेको छैन। अघिल्लो पुस्ताको सोचलाई कसरी सफल बनाउने भन्ने नै ठूलो हो। पारिवारिक व्यवस्थापन व्यवसायबाट व्यवासायिक व्यवस्थापनमा रुपान्तरण गर्ने पहिलो कदम हो जस्तो लाग्छ मलाई। ३/४ वर्षअघि बिजनेस म्यानेज गर्न सहज थियो। त्यतिबेला एउटा व्यापार हुन्थ्यो। त्यसमा फोकस भइन्थ्यो।
अहिले धेरै बिजनेस छ। टिम कसरी बनाउने? संरचना कस्तो निर्माण गर्ने? यसमा केही संरचनागत रुपान्तरण गर्ने सोचेको छु। यो केवल आन्तरिक संरचनागत कुरा हो। यसको आउटपुट त बाहिर देखिन्छ। तर तत्काल होइन। लगानीका हिसाबले अबको हाम्राे केन्द्रबिन्दु बढी भन्दा बढी रोजगारी सिर्जना गर्ने कृषि तथा उर्जा नै हुन्।
.jpg)
लगानीदेखि रोजगारी, राज्यलाई करदेखि आफ्नै उन्नतिसम्म तपाइको नेतृत्वले के फरक पार्छ?
धेरै अन्तर हुन्छ। अबको दुई/तीन महिनामै रोजगारी र लगानीमा अन्तर देखिन थाल्छ। रोजगारी, लगानी तथा निर्यात सबै बढेपछि राज्यलाई तिर्ने कर पनि स्वभाविकरूपमा बढ्छ। अहिले रिलायन्समा ४ हजार रोजगारी छन्।
यसमा २/३ महिनापछि २० प्रतिशतले उत्पादन क्षमता बढ्छ। त्यसमा रोजगारी पनि थप हुँदै जान्छ। प्रत्येक वर्ष उत्पादन क्षमता बढाउँदै लैजाने हाम्रो योजना छ। त्यस्तै, कपास खेती गर्ने योजना हामीले बनाएका छौं। यसमा हामी आफै मात्र गर्दैनौ।
किसानलाई पनि कपास खेती गर्न लगाउछौं। यसरी किसानसँग सहकार्य गर्दा प्रत्यक्ष रोजगार बढ्छ। अहिले नेपालमा कटन धागो सबै आयात हुन्छ। कपासको उत्पादन धेरै भएपछि हामी आफैं उत्पादन गर्छौं। पछि बिजनेस विस्तार हुँदै गएपछि हामी निर्यात पनि गर्छौं।
पछिल्लो समय सेवा क्षेत्रमा तपाईंहरुको उपस्थिति बलियो हुँदै आएको छ। कुनैबेला उत्पादन नै मुख्य हिस्सा हुन्थ्यो। पारिवारिक ब्यापारमा नयाँ पुस्ताको प्रवेशसँगै व्यापार संरचना फेरिन सुरु गरेको हो?
पहिलेदेखि सुरू भएको उत्पादनमूलक क्षेत्र हाम्रो प्रिमियम सेग्मेन्ट नै हो। त्यसैले यसमा भएको लगानीलाई अझ स्मार्ट बनाउँदै लिने हो। उत्पादकत्व बृद्धि तथा प्रतिफल बढाउने हाम्रो ध्यान अवश्य हुन्छ। यो हाम्रो सुरुआती व्यवसाय मात्र होइन हाम्रो ज्ञान,सीप र अनुभव पनि यसमै छ। त्यसैले हाम्रो भविष्य पनि हो।
योसँगै नयाँ परिवेशमा विकास भएका प्रविधि त्यसले परिवर्तन गराएको बिजनेस इकोसिस्टमभित्र कसरी फिट हुने भन्ने विषयमा हामी निरन्तर अध्ययन अनुसन्धान गर्छौं। उदाउँदा क्षेत्रमा हाम्रो लगानीको पोर्टफोलियो पनि विस्तार हुने क्रम पनि जारी हुन्छ।
यसै पनि परिवारभित्र अविभावकको निर्णायक हस्तक्षेप त भइहाल्छ। यस्तोमा तपाईंले यो ग्रुपलाई कसरी ड्राइभ गर्नुहुन्छ?
हाम्रो व्यवसायमा अहिलेसम्म त्यस्तो भएको छैन। कुनै पनि व्यापारिक निर्णय समूहको लिडरले नै गर्छ। काम गर्दै जाँदा सिक्ने हो। गल्ती भयो भने त्यसैबाट सिक्ने हो। फेरि दोहोर्याउन भएन। आफ्नै सोच हुन्छ, अविभावकको हस्तक्षेप हुँदैन।
अहिले उद्योगहरूको अवस्था के छ त?
रिलायन्सको २० प्रतिशत उत्पादन क्षमता बढाउँदै छौं। कपास खेती गरी कटनको धागो नेपालमै उत्पादन गरी निर्यात गर्ने योजना छ। ३६ मेगावाटको बलेफी हाइड्रोपावर प्रोजेक्ट उत्पादनको चरणमा छ।
२/३ महिनामा यसको उत्पादन सुरू हुन्छ। संखुवासभाको इश्वाखोलाको ९७ मेगावाटको हाइड्रो निमार्णको चरणमा छ। यसको १/२ वर्षको उत्पादन सुरू हुन्छ। ५८ मेगावाटको आप्सखोला र ४६ मेगावाटको अपर बलेफी हाइड्रो नेपाल विद्युत प्राधिकरणसँग पावर पर्चेज एग्रिमेन्ट(पिपिए)को क्रममा छ।
कृषिमा नयाँ कर्प क्यालेण्डर बनाउँदै छौं। त्यसमा मुख्य फलफूललाई जोड दिइएको छ। साना घरेलु किसान र महिला उत्पादकलाई विशेष प्राथमिकता दिएर उनीहरूलाई उद्यमी बनाउन सहयोग गर्छौ। उनीहरूको सामान सबै माटो ब्राण्ड मार्फत् बेच्ने योजना छ।
.jpg)