२१ फागुन, काठमाडौं । नेपालमा मूलतः व्यापारिक र राजनीतिक परिवारका सदस्यहरुले अब्बल उद्योगी-व्यवसायी घरानाको पहिचान बनाएका छन् । यसमा पनि दुईखाले छन्- आयात व्यापारमा अब्बल बनेका व्यापारिक घराना र उद्योग खोलेर उँभो लागेका उद्योगी घराना । आयात व्यापारले धेरै राजश्व तिरे पनि वैदेशिक व्यापार घाटा बढाएको छ भने उद्योगले रोजगारी सिर्जनाका साथै व्यापार घाटा घटाउन सघाइरहेको हुन्छ ।
स्वदेशमा उद्योग सञ्चालन गरेर अब्बल बनेकाहरु मध्ये एक हुन्, पवन गोल्यान ।
पवन अध्यक्ष रहेको गोल्यान समूहले अहिले ५ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने मुलुकको व्यापार घाटा घटाउन करिब ७ प्रतिशत योगदान गरिरहेको छ ।
यसबाहेक पवन गोल्यान ‘क’ वर्गको वाणिज्य बैंक एनएमबी र नेपाल धागो उत्पादक संघको पनि अध्यक्ष छन् । गोल्यान समूहले बीमा, जलविद्युत्, रियलस्टेट, कृषि र हस्पिटालिटी क्षेत्रमा पनि लगानी गरिरहेको छ ।
१४ वर्षको उमेरबाट कारोबार
मोरङको पुरानो सदरमुकाम रंगेलीमा जन्मिएका पवन अहिले ६० वर्षका भए । उनको समयमा १६ वर्ष नपुगी प्रवेशिका परीक्षामा सहभागी हुन नपाइने भएकाले कागजमा दुई वर्ष उमेर बढाएर १४ वर्षको उमेरमा विराटनगरको सत्यनारायण हाइस्कूलबाट एसएलसी पास गरे । एसएलसी दिएपछि खाली समयमा बुवा सोहनलाल गोल्यानले उनलाई पुख्र्यौली ब्यापार सिकाए ।
‘बुबाले पहिलो दिन दिनुभएको दुईवटा बहिखातामध्ये एउटा खाली थियो’, पवन सम्झन्छन्, ‘त्यसमा अर्कोको पुरा कारोबार ध्यान दिएर सार्नु भन्नुभयो ।’ दास्रो दिनबाट नयाँ खातामा नयाँ हिसाब किताब राख्न सिके । त्यसरी बुबालाई कारोबारमा सघाउँदै, सिक्दै उनले १९ वर्ष पुग्नै लाग्दा मोरङ क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातक गरे । ‘त्यसपछि बुवाले कारोबार पुरै जिम्मा दिनुभयो’, पवन भन्छन् ।
त्यसबेला विराटनगरमा गोल्यान समूहको कपडा उद्योग थियो, तर बन्द अवस्थामा । पवनले त्यसलाई सञ्चालनमा ल्याए । त्यसपछि उनले पस्मिना उद्योगमा हात हालेर सबैभन्दा धेरै निर्यात गर्ने उद्यमी बने । उनले नेपाल बाहिर उद्योग खोल्ने सोच कहिल्यै राखेनन् । यसको खास कारण छ । ‘बुवाले धेरै मुलुक घुमेर हेर्नुभयो, हङकङ र यूएईमा लगानी गर्ने योजना पनि बनाउनुभएको थियो’ पवन भन्छन्, ‘तर, असफल भएकाले मैले दायाँबायाँ नहेरी स्वदेश मै काम गरेँ ।’
छाता र चप्पलपछि धागो उद्योग
सोहनलाल गोल्यानले बिराटनगरमा चप्पल, छाता, जिपर (प्यान्ट र ज्याकेटको चेन) र अडियो क्यासेट बनाउने उद्योग पनि खोलेका थिए । त्यसबाट उद्यम-कारोबार सिकेका छोरा पवनले कपडा उद्योगमा पारिवारिक नेतृत्व लिए ।
बुवाले सम्हाल्न नभ्याएर बन्द गरेको कपडा उद्योगबाटै आफ्नो व्यवसायिक सफलताको यात्रा शुरु भएको पवन बताउँछन् । उनी भन्छन्, ‘अनि धागो उद्योग खोल्ने योजना बन्यो र सन् १९९४ मा एमएस ग्रुपका शशीकान्त अग्रवालसँग मिलेर ५०-५० प्रतिशत लगानीमा रिलायन्स स्पिनिङ मिल राख्यौं ।’
त्यस लगत्तै नेपाल र भारतबीच भएको एउटा व्यापारिक सम्झौताले धागो उद्योगलाई मद्दत गर्यो । त्यसकै परिणाम स्वरुप नेपालमा बनेको सुती र सिन्थेटिक धागो ठूलो परिमाणमा भारत निर्यात हुन थाल्यो । अलि पछि त टर्कीतिर पनि निर्यात हुन थाल्यो, जुन अहिले पनि जारी छ ।
गोल्यान समूहको अर्को उद्योग छ- शिवम् प्लाष्टिक इण्डष्ट्रिज । यहाँ उत्पादित ८० प्रतिशत भन्दा बढी पोलि-प्रोप्लिन ब्याग (सिमेण्ट राख्ने बोरा), टार्पाेलिन (त्रिपाल) र झोलाहरु भारतमा निर्यात हुन्छ । ‘निर्यात कै हेतुले खोलेको स्वेटर उद्योग भने विभिन्न कारणले सोचे जस्तो हुन सकेन’, पवन भन्छन्, ‘अहिले भतिजाले सम्हालिरहेको त्यो उद्योगले आन्तरिक बजार भने राम्रै गरिरहेको छ ।’
हाम्रो पनि दिन आयो
मुलुक पछिल्लो समय व्यापार घाटाको चपेटामा छ । दिनानुदिन आयात बढ्दा निर्यात भने एकदमै कम देखिएको छ ।
कृषिप्रधान मुलुक कृषि उपजमै परनिर्भर बन्नुपरेको अवस्था छ । चालु आर्थिक वर्षको अघिल्लो छमहिनामा कुल वस्तु व्यापारघाटा ३२.१ प्रतिशत बढेर ६ खर्ब ७८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा सातखर्ब २३ अर्ब ९४ करोड रुपैयाँ बराबरको आयात र जम्मा रु.४५ अर्ब ४१ करोडको निर्यात भएको छ ।
यो अवस्थामा गोल्यान समूहको उद्योग-व्यावसायले नेपालको कुल वस्तु तथा सेवा निर्यातमा साढे ७ प्रतिशत हाराहारीमा योगदान गरिरहेको पवन गोल्यानको दाबी छ । एउटै व्यवसायिक घरानाबाट यति ठूलो परिमाणमा निर्यात गर्ने सम्भवतः गोल्यान समूह नै हो ।
पछिल्लो सरकारी नीतिले आफूलाई उत्साहित पारेको पवन गोल्यान बताउँछन् । सरकारले निर्यातमूलक उद्योगलाई पनि केही सहुलियत दिने नीति लिएको उनी बताउँछन् । ‘हिजो आयात गर्नेहरुलाई धेरै राजश्व दाखिला गरेको माला लगाएर सम्मान र हामीलाई बेवास्ता गरिन्थ्यो’, पवन भन्छन्, ‘अहिले सरकाले नै निर्यात बढाउनुस् भन्न थालेकाले हाम्रो पनि दिन आयो भन्ने लागेको छ ।’
सरकारलाई मात्र गाली गरेर केही हुँदैन भन्ने उनका सरकारसँग केही अपेक्षा र सुझावहरु छन् ।
सरकारले मुलुकको कृषि क्षेत्रलाई यो तालले छाड्न नहुने उनी बताउँछन् । कृषिसम्बन्धी सरकारी संयन्त्रहरु प्रभावकारी नभएको भन्दै उनले भने, ‘किसानका लागि भनिने कार्यक्रमहरु किसानसम्म पुग्यो, पुगेन भनेर हेर्नु पर्यो ।’
कृषिमा काम गर्दा पवनको अनुभवले भन्छ-च्याउ सरी चिस्यान केन्द्र उमि्रनु ठीक होइन । किटनाशक औषधिमा सहुलियत दिनु हुँदैन । रासायनिक मलमा पनि धेरै लगानी गर्नु हुँदैन । प्रांगारिक उत्पादनलाई प्रोत्साहन गर्ने नीति आउनुपर्छ । सरकारले इक्युपमेन्ट बैंक खोलेर किसानलाई ट्र्याक्टर, थ्रेसर लगायतका मेसिनरी किन्न सघाउनुपर्छ ।
‘अनुदान वा सहुलियत दिएर मात्र हुँदैन, लक्षित वर्गसम्म पुग्यो, पुगेन भनेर प्रभावकारी अनुगमन पनि हुनुपर्यो’, पवन भन्छन्, ‘नत्र त बिचौलिया मोटाउने र किसान सुक्ने मात्र हुन्छ ।’
उद्योग क्षेत्रमा सरकारी ढिलासुस्ती औंल्याउँदै उनले भने, ‘अर्थमन्त्रीज्यूले ६० दिनमा कार्यान्वयन गर्छु भनेको निर्यातमूलक उद्योगलाई सहुलियत दिने नीति अझै कार्यन्वयन भएको छैन । के समस्या आएर ढिलो भयो बुझ्न सकिएन ।’
बैंकिङमा सफल नेतृत्व
एमएमबी बैंकले लगातार दुईपटक बेलायतस्थित द फाइनान्सियल टाइम्सको ‘बैंक अफ दी इयर अवार्ड’ पायो-२०१७ र २०१८ मा । त्यसमा पनि पवन गोल्यानको प्रमुख भूमिका रहृयो । अहिले उनी एमएमबी बैंकको अध्यक्षका रुपमा दोस्रो कार्यकालमा छन् ।
बोर्डले तनाब दिएकै कारण बैंकहरुका कार्यकारी अधिकृत (सीईओ)ले राजीनामा दिएको धेरै दृष्टान्त छन् । तर, पवन गोल्यान यस्ता अध्यक्ष हुन्, जसले आफ्नो बैंकका सीईओलाई प्रगति देखाउन प्रेरित गर्छन् । ‘बोर्डले भिजन दिने र व्यवस्थापनले काम गर्ने हो’, उनी भन्छन्, ‘हाम्रो बैंकमा त्यही भएको छ ।’
यस्तै एनआईसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स (एनएलआइसी) र एसियन लाइफ इन्स्यारेन्स कम्पनीमा पनि समेत गोल्यान समूहको लगानी छ ।
होटलदेखि हाइड्रोसम्म
उत्पादनमा केन्दि्रत गोल्यान समूहले पछिल्लो समय रियलस्टेट र सेवा क्षेत्रमा पनि लगानी बढाएको छ । होटलतर्फ रेसिडेन्सेस् एट हायात प्लेसमा लगानी छ भने वेष्टार प्रपर्टिजमार्फत ललितपुरको बालकुमारीमा हाउजिङ छ ।
त्यस्तै, माथिल्लो बलेफी जलविद्युत् आयोजना (४६ मेगावाट), बलेफी हाइड्रोपावर आयोजना (३६ मेगावाट), भोटेकोशी हाइड्रो (३५ मेगावाट) र केएनबीआर इस्वा हाइड्रोपावर (९७ मेगावाट) निर्माणाधीन छन् भने २० मेगावाटको सोलार परियोजनामा लगानी छ । पवन गोल्यानले विद्युतको लागि छुट्टै समूह बनाएका छन् ।
साथी र छोराहरुको टिम बनाएर एकहजार मेगावाटको जलविद्युत् परियोजना चलाउने जिम्मा लगाएको उनले सुनाए । भन्छन्, ‘ठुला आयोजनामा विदेशी साझेदार समेत भित्र्याउने गरी काम गर्न भनेको छु ।’
कृषि उद्यमबाट लगानी
पवनले पछिल्लो समय कृषि उद्यममा ध्यान दिएका छन् । कृषि प्रधान मुलुकमा ठूलो परिमाणमा कृषि उत्पादन आयात गर्नुपर्ने अवस्था हटाउन सकिन्छ कि भनेर कृषिमा हात हालेको उनले बताए । भने, ‘झापामा २०० बिघा जग्गा किनेर कागती, आँप, लिच्ची, मेवा, खरबुजा लगायतका फलफूल लगाउन लागेको छु ।’
कृषकहरुलाई पनि आधुनिक कृषिमा प्रोत्साहन गरिरहेका छन् । त्यसका लागि माछा, बंगुर, कुखुरा र गाई पालनका लागि सहयोग गरिहेका पवनले बताए । ‘काम गर्न चाहने तर, स्रोत नभएका किसानहरुलाई नगद होइन, आवश्यक सामग्रीमा लगानी गरिदिने गरेको छु’, उनी भन्छन्, ‘त्यसका लागि गैर-नाफामूखी गोल्यान एग्रो कम्पनी खोलेका छौं ।’
पवन गोल्यानले समाज सेवाका लागि छोरा जयन्तको स्मृतिमा छुट्टै संस्था स्थापना गरेका छन् । १४ वर्षको उमेरमा बितेका छोराको नाममा खोलेको जयन्त गोल्यान फाउण्डेशनले महिला र कृषकलाई आत्मनिर्भर बनाउने शीप विकास तालीम तथा सहयोग गर्ने गरेको छ ।
पैसाले खुशी किन्न सक्दैन
हरेक काम गर्दा अनेक समस्या आइपर्छन् । कतिपय मानिस समस्या आईपरेपछि थालेको कामलाई बिचैमा छाडिदिन्छन । तर, पवन त्यो समूहमा पर्दैनन् ।
उनको स्वेटर उद्योग सोचेजस्तो चलेन । स्टिल उद्योगमा त पुरै लगानी डुब्यो । तर, उनले निरन्तर काम गरिरहे, वुद्वि खियाइरहे अनि लगानी गरिरहे । न त निराश भएर एजेन्सी व्यापारमै लागे ।
नेपालमा भारत लगायतका मुलुकबाट वस्तु तथा सेवा आयात गरेर मालामाल हुनेहरु पनि धेरै छन् । पवन गोल्यानले भने उत्पादन र निर्यातमा मात्र ध्यान दिए । उनी भन्छन्, ‘मलाई उद्योग खोलेर रोजगारी सिर्जनासँगै पैसा पनि कमाउन सकिन्छ भने किन एजेन्सी व्यापारमा लाग्ने भन्ने लाग्छ ।’
निर्यातमुलक उद्योगबाट मुलुकलाई थोरै भएपनि फाइदा पुर्याएको अनुभूति उनलाई छ । उनी कसरी पैसा कमाउने भन्ने चिन्तनमा रहन्छन्, तर ‘जसरी पनि’ कमाउँन चाहँदैनन् । बुवा सोहनलाल गोल्यानले नै उनको दिमागमा यो सोच भरिदिएका हुन् । पवनले रंगेली बजारमा आफू जन्मेको झुपडीको सुगन्ध पनि भुलेका छैनन्, जहाँबाट आफ्ना बाबुले कारोबार थालेका थिए ।
‘जीवनमा सम्झँदा सन्तुष्ट लाग्ने कुराहरु छन् भने मान्छेलाई खुशीको दुःख हुँदैन’, ६० वर्षे पवन भन्छन्, ‘मलाई पैसाले मात्र खुशी किन्न सकिन्छ जस्तो लाग्दैन ।’
फेरि, पैसा र ‘पावर’ले मान्छेलाई कहिल्यै नपुग्ने उनको बुझाइ छ ।
दोस्रो पुस्ताको काँधमा व्यवसाय
गोल्यान समूहमा अहिले तेस्रो पुस्ता सक्रिय छ । पवन र उनका दाजु बासुदेवले बिस्तारै छोरा बुहारीहरुलाई जिम्मा लगाउँदै छन् । पवनका एक छोरा र दुई भतिजले विदेशमा अध्ययन गरे । एक भतिज बुहारी पनि विदेशमा पढेकै आएकी छन् ।
छोरा, भतिज सबै विदेशमै व्यवसाय गर्न चाहन्थे, तर आफैंले फकाई फुल्याई देश फर्काएको पवन बताउँछन् । अब उनीहरुले नै व्यवसाय सम्हाल्न थालेका छन् । छोरा अक्षय, भतिजाहरु शक्ति र अनन्त, बुहारी लतिकाले पूरापूरा जिम्मेवारी लिएका छन् ।
गोल्यान परिवारले भाग्यले लतिका जस्ती व्यवसाय सम्हाल्ने बुहारी पाएको पवनले बताए । ‘चेन्नेईमा पढेकी उनले हस्पिटालिटी क्षेत्र जिम्म्ाा लिएकी छन्’, गर्वका साथ उनले भने, ‘अब गोल्यान समूहको नेतृत्व तेस्रो पुस्तामा गयो ।’