अपर बलेफी हाइड्रो पावरमा चारवटा बैंकले ७ अर्ब लगानी गर्ने

रातोपाटी

 

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको अगुवाईमा चारवटा बैंकले निर्माणाधीन अपर बलेफी हाइड्रोपावरमा लगानी गर्ने भएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा लगानीकर्ता बैंकहरु लक्ष्मी सनराइज बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक र माछापुच्छ्रे बैंक र आयोजना बलेफी हाइड्रोपावर कम्पनीका प्रतिनिधिबिच सहमति भएको हो ।

 

सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिकास्थित बलेफी नदीमा नदी प्रवाहमा आधारित ४६ मे.वा.क्षमताको अपर बलेफी जलविद्युत आयोजना निमार्ण हुँदैछ । यस आयोजनाको कूल लागत ९.४३ अर्ब रहेको छ । बैंकहरुसँगको साझेदारीले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा थप महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको भनाइ छ ।

 

अपर बलेफी हाइड्रोपावरले २०७८ साल साउन ३२ गते विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै २०८० साल मंसिर ५ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेकोे छ । सो कम्पनीको प्रवद्र्धकको रुपमा गोल्यान ग्रुप, एचआर गोयल ग्रुप, सिद्धार्थ ग्रुप र उमेश कसजु रहेका छन् ।

 

सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रर्वदक/संस्थापकहरुको लगानी रहने छ ।

 

लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ४.०७ अर्ब रुपैयाँ रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा कृषि विकास बैंकको १.५ अर्ब, नेपाल एसबीआई बैंकको १ अर्ब र माछापुच्छ्रे बैंकको ५० करोड लगानी रहेको छ ।
सो आयोजना निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब २७४.८९ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै ठुलो मध्येको स्वतन्त्र उर्जा उत्पादकको रुपमा रहने विश्वास लिएको छ ।